जनताको अवस्था अझै पनि सोच अनुरुप परिवर्तन भएको छैनः मन्त्री बस्नेत

बागमती : नेपाल सरकारको उर्जा, जलस्रोत तथा सिचाईमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले अहिले देशमा ठूलो परिवर्तन भएपनी जनताको अवस्था भने अझै पनि सोचे अनुरुप नभइरहेको बताउनुभएको छ । शनिबार बागमती गाउँपालिकामा आयोजना भएको माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

देशमा गणतन्त्र आएर विभिन्न हक अधिकार पाए पनि अझै केही जातजातिहरुले आफ्नो अधिकार प्राप्त गर्न नपाइरहेको उहाँले बताउनुभयो । सशक्त जनसंगठन मोर्चा बनाएर अघि बढेको कारण देशको संविधान बनाउन सफल भएको र विभिन्न अधिकार पाउन थालेको उहाँले बताउनुभयो । उहाँले यो व्यवस्था हटाउन केही शक्ति लागिरहेको आरोप लगाउनुभयो । उहाँले अहिलेको संविधानको रक्षा र कार्यन्वयन गर्न आजको आवश्यकता भएको बताउनुभयो । यसका लागि सबै जाति, वर्ग, संगठनहरु फेरि संगठित हुनुपर्ने र संविधानमा उल्लेख गरेको अधिकार प्राप्तका लागि लड्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा परिवर्तन आउने काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । राज्यले गास, बास र कपसको ग्यारेन्टी गर्न सक्नुपर्ने बताउनुहुँदै उहाँले समाजउन्मुख विकास गर्नपुर्ने बताउनुभयो । देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्न पार्टीले सरकारको नेतृत्व गरेको गरिरहेको पनि उहाँले बताउनुभयो । अहिलेको यो व्यवस्था माओवादीले डिजाइन गरेको दाबी गर्नुहुँदै उहाँले यो व्यवस्थाको रक्षा माओवादी केन्द्रले मात्रै गर्न सक्ने बताउनुभयो । उहाँले सरकार अहिले आगामी आथिक वर्षको नीति बनाउन तयारी गरिरहेको बताउनुहुँदै उहाँले माझी समुदायलाई उत्थान गर्ने गरी नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै पार्टीकी केन्द्रीय सदस्य एवम् पुर्व सभामुख ओनसरी घर्ती मगरले माझी समुदायको उत्थानका निम्ति पार्टीले जातिय मोर्चा गठन गरेको बताउनुभयो । उहाँले संगठनले माझी समुदायको भाषा र संस्कृतिको जर्गेना गर्दै अधिकारलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सबै उत्पीडित जातिहरुको अधिकार सुनिश्चिताका लागि पार्टीले अगुवा गरिरहेको पनि बताउनुभयो । उहाँले संविधानमा नलेखिएको एजेण्डाहरु थप गर्न सबै लाग्नुपर्ने बताउनुभयो । यस्तै नेपाल सरकारको निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले माझी समुदायको पहिचानलाई जोगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले माझी समुदायको पहिचान झल्किने संस्कृति जर्गेना गर्नुपर्ने बताउनुभयो । सामुहिक रुपमा घर बनाएर मिलेर बस्ने पराम्पराको रक्षा गरी विकासको नीतिहरुमा मान्यताको आधारमा समाजवाद खडा गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अहिले प्रदेश सरकार आफ्नो कर्तव्य र अधिकारमा रहेर कामहरु अगाडी बढारहेको बताउनुभयो । अहिले बागमती प्रदेशले प्रदेशभित्रको जातजाति, धर्म, संस्कृतिको जर्गेना गर्न माझी, चेपाङ लगायतको जातिहरुको पर्वमा पनि सार्वजनिक विदा दिनुपर्छ भन्नेमासरकात्मक भएर अगाडी बढिरहेको पनि उहाँले बताउनुभयो । प्रदेश सरकारले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर तामाङ र नेवार जातिको भाषालाई कामकाजी भाषाको रुपमा कार्यन्वयन गर्न सक्ने विद्येयक ल्याएको बताउनुहुँदै उहाँले त्यो विद्येयकभित्र अरु जातिहरुको पनि भाषालाई प्रयोग गर्न सक्ने कानुन बनाउन सकिने बताउनुभयो । उहाँले यसका लागि कानुनी रुपमा अगाडी बढाउन सक्ने भएकाले स्थानीय तहले पनि निर्णय गरेर विभिन्न भाषाहरुलाई सरकारी कामकाजीको रुपमा अगाडी बढाउन सकिने उहाँले बताउनुभयो । त्यसका लागि आफ्नो भाषा, संस्कृति र लिपी चाहिने हुँदा सबै जातिहरुले त्यसको जर्गेना गर्नुपर्ने उहाँले बताउनुभयो । सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने जनाएको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष तुला बहादुर माझीको सभाध्यक्षतामा भएको सम्मेलनमा पार्टीकी केन्द्रीय सदस्य उर्मिला राई, पार्टी बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, पार्टी मकवानपुर इन्जार्ज विजय गौतम र जिल्ला समन्वय समिति संयोजक एवम् बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया