बागमती – प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मत गणना अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । इलाम क्षेत्र नं २ को चारवटा पालिकाको मत गणना सम्पन्न हुँदा नेम्वाङले ४ हजार ६८३ अर्थात् ४६ सय भन्दा बढी मतले अग्रता कायम राख्नुभएको छ । उक्त मतगणनामा सुहाङले १३ हजार ६९ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ८ हजार ३८६ आएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ९८ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बुको १ हजार ७१३ मत आएको छ ।
यसैगरी, अहिले सम्म ३२ हजार ६३८ मत गणना भएको छ । अहिलेसम्मको फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिका ६, ७ को मत गणना सक्किएको छ । यसपटक इलाम– २ मा ६९ हजार २८७ मत खसेको थियो ।