बागमती: बागमती गाउँपालिकामा आयोजना भएको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक ४ नम्बरको ए टिमले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ८ लाई ४–१ गोलले हराउँदै आयोजकले उपाधि जितेको हो ।
४ नम्बरको जितमा सुबास थिङ र अमर पाख्रिनले दुई–दुई गोल गरे । यस्तै ८ नम्बरका अविन भोलनले एक गोल फर्काएका थिए । उपाधि विजेता आयोजक ए ले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता ८ नम्बरले १५ हजार रुपैयाँमा चित्त बुझाएका छन् । प्रतियोगितामा ४ नम्बरका क्रमशः सर्बोत्कृष्ट खेलाडी सुबास थिङ, उत्कृष्ट गोलरक्षक पवन आले मगर, डिफेन्डर ज्ञान बहादुर जिम्बा र फरवार्ड अमर पाख्रिन घोषित भए । यस्तै ८ नम्बरका नविन भोलन उत्कृष्ट मिडफिल्डर घोषित भए । शुक्रबार भएको सेमिफाइनल खेलमा वडा नम्बर २ लाई १–० गोलले हराउँदै आयोजक ए टिम फाइनलमा प्रवेश गरेको थियो भने वडा नम्बर ६ लाई १–० गोलले हराउँदै ८ नम्बर फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताका संयोजक भुगोल माझीको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा ४ नम्बरका वडाध्यक्ष दन्तलाल माझी, जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल र बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा लगायतको उपस्थिति रहेको थियो ।