खेती भेन्चर प्रालि, एनएमबी बैंक, र बागमती गाउँपालिका, मकवानपुर बीच एनएमबी खेती कर्जाको त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा खेतीका सहसंस्थापक न्यूराज कार्की, एनएमबी बैंकका प्रमुख डा. बुद्धि मल्ल, र गाउँपालिका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गर्नुभएको छ।
यस साझेदारीले ‘खेती एप मार्फत बागमती गाउँपालिकाका व्यावसायिक कृषकहरूलाई धितोबिना प्रतिकृषक २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ। बागमती गाउँपालिकाले योग्य कृषकको छनोट र बजार व्यवस्थापनमा सहयोग गर्नेछ। कर्जा EMI प्रणालीमा आधारित हुनेछ, र कृषकले भुक्तान समय आफैँ चयन गर्न सक्नेछन्।
सम्झौताअनुसार, बागमती गाउँपालिकाले दूध उत्पादक कृषकहरूलाई डेरीसँग जोड्नेछ, जसले कृषकको EMI भुक्तानी गर्नेछ। यो सम्पूर्ण प्रक्रिया डिजिटल भएकाले खेतीले डिजिटल साक्षरता तालिम र एनएमबी बैंकले वित्तीय साक्षरता तालिम सञ्चालन गर्नेछन्, जसमा पालिकाले संयोजन गर्नेछ।यसका साथै किसानलाई डिजिटल परामर्श र बिमाको पहुँचमा पनि खेति भेन्चर कम्पनीले निरन्तर सहकार्य गर्नेछ।
खेती एप सन् २०१९ मा स्थापना भएको हो र यसले तीन वर्षअघि एनएमबी बैंकसँग सहकार्य गरी बिनाधितो डिजिटल कर्जा योजना सुरु गरेको हो। स्थानीय सरकारसँगको यस्ता सहकार्य देशका विभिन्न स्थानीय क्षेत्रमा गर्नेछ र किसानमाझ सहज रुपमा लगानीको पहुँच पुर्याउने छ।