यो दशैमा बागमती गाउँपालिकाको कृषकले करिब १ करोड बराबरको खसीबोका बिक्री गरे।

बागमती: बागमती गाउँपालिकाबाट करिब १ करोड रुपैयाँ बराबरको खसीबोका विक्री भएको छ । शनिबार र आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बागमतीबाट १ करोड बराबरको खसीबोका खरिद गरेको हो ।

कम्पनीले ४ सय ८८ वटा खसीबोका विक्री भएको गाउँपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख डा. विमोचन पौडेलले जानकारी दिनुभयो । असोज १८ तथा २० गते गाउँपालिकाका विभिन्न स्थानबाट खसीबोका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरि काठमाडौं पठाएको थियो । करिब १ करोडको खसी बोका विक्री भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार कृषकहरुले विक्री स्थलमै खसीबोकामा रकम पाएका छन् । जिउँदो खसी २० देखि २५ केजीसम्मलाई प्रतिकेजी ५ सय ८५ रुपैयाँ, २५ केजीभन्दा माथिलाई प्रतिकेजी ६ सय ५ रुपैयाँ मूल्य तोकिएको छ । यस्तै, १८ केजीभन्दा माथिका बोकालाई प्रतिकेजी ५ सय ७० रुपैयाँ खरिद मूल्य तोकिएको थियो । गाउँपालिकाका पशुपंक्षी शाखाका प्राविधिक राजेन्द्र गोलेका अनुसार यसअघि लगातार दुई वर्ष पनि कम्पनीले बागमतीबाट खसीबोका खरिद गरेको थियो । बागमतीमा सुरुको वर्षमा १ सय ५ वटा र दोस्रो वर्ष ३ सय ५० वटा खसीबोका खरिद गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका तर्फबाट अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र कम्पनी बिरगंज शाखाका प्रमुख पंकज कुमार झा र वरिष्ठ सहायक समीर दाहालले खसीबोका खरिद विक्रीको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया