मकवानपुर: दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु प्रतियोगितामा काठमाडौंको चित्लाङ फुटबल क्लबले सुखद् सुरुवात गरेको छ ।
प्रदेश फुटबल संघको आयोजनामा बुधबारबाट सुरु भएको उद्घाटन खेलमा काभ्रे पलाञ्चोकको माउण्ट एभरेष्ट फुटबल क्लबलाई काठमाडौँको चित्लाङ फुटबल क्लबले ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । काठमाडौंको जीतमा अंकित राजकोटीले ह्याटि्रक गोल गरे । उनले पहिलो हाफको १५औं मिनेटमा र २०औं मिनेटमा २ गोल गरेका थिए । म्यान अफ द म्याच घोषित राजकोटीले ट्रफी र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले ट्रफी र पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाईन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिवासी युवा समाज, नुवाकोट बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लब सहभागी छन्।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।