११ पौष /झुरझुरेः मकवानपुरको बामगती गाउँपालिकामा निर्माणाधीन अस्पतालको निरीक्षण गरिएको छ । बिहिबार गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृृत ओम प्रसाद दर्जीले निर्माणाधीन अस्पतालको निरीक्षण गर्नुभएको हो ।
निर्माणाधीन अस्पतालको निरीक्षण गर्नुहुँदै अध्यक्ष घलानले निर्माण कार्य सम्झौता अवधिभित्र सक्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । अस्पताल निर्माण सम्पन्न भएपछि गाउँपालिकासँगै आसपासका सेवाग्राहीले सेवा पाउने उहाँले बताउनुभयो । अहिले गाउँपालिकाभित्र कुनै ठुला अस्पताल नरहेकाले पालिकाबाहिर उपचारका लागि जानुपर्ने र बिरामी रेफर गर्र्नुपर्ने अवस्था हट्ने उहाँको भनाई छ । निर्माण कम्पनीले सम्झौता अवधिभित्रमा काम सम्पन्न गर्ने जनाएको छ ।
गाउँपालिकाले अस्पताल निर्माणका लागि २०८० जेठ २४ गते काभ्रेको शिवालय बिल्डर्स प्रालीसँग सम्झौता गरेको थियो । सम्झौतामा निर्माण कम्पनीले १७ करोड ८८ लाख रुपैयाँमा ठेक्का पाएको थियो । गाउँपालिकाका सब इन्जिनियर अशोक महत्तोका अनुसार हालसम्म अस्पताल निर्माणको प्रगति ७० प्रतिशत भएको छ ।