राईगाउँमा बृहत स्क्रिनिङ क्याम्प संचालनः १७ जनामा क्षयरोग पुष्टि

रबिन्द्र वाइबा
१७ पौष २०८१/राईगाउँः बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँमा डिजिटल एक्स–रे मार्फत स्क्रिनिङ क्याम्प संचालन भएको छ । समुदायमा लुकेर रहेका सक्रिय क्षयरोगको खोजपड्ताल कार्यक्रम अन्तर्गत बुधबार बागमती गाउँपालिकाको स्वास्थ्य शाखाले स्क्रिनिङ क्याम्प संचालन गरेको हो ।

स्क्रिनिङ क्याम्पमा ३ सत ६१ जनाको डिजिटल एक्स–रे मार्फत स्वास्थ्य परिक्षण गर्नुका साथै नमुना संकलन गरिएको छ । जसमध्ये १७ जनामा क्षयरोग पुष्टि भएको बागमती गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताले बताउनुभयो । उहाँका अनुसार ४८ जना शंकास्पदको नमुना संकलन गरी परिक्षणका लागि हेटौंडा अस्पताल पठाइएको छ । जसको रिपोर्ट बिहिवार आउने उहाँले बताउनुभयो । क्षयरोग पुष्टि भएकाहरुको गाउँपालिकाले निशुल्क उपचार गरिदिनेछन् ।
कार्यक्रममा बोल्नुहुँदै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले क्षयरोगमुक्त पालिका अभियान अन्तर्गत राइगाउँबाट सेवा सुरु गरिएको बताउनुभयो । उहाँले नसर्ने रोग विरुद्धको अभियानलाई पालिकाभित्र समुदायस्तरमा पुर्‍याइने बताउनुभयो । उहाँले स्थानीय सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले सबै जना उपस्थित भएर सेवा लिन पनि आग्रह गर्नुभएको छ । क्याम्प संचालनका लागि अध्यक्ष घलानले विशेष पहल गर्नुभएको थियो ।
स्क्रिनिङ क्याम्पमा सुगर, प्रेसर, रगत, पिसाब, खकारलगायत नसर्ने रोगको परीक्षण गरिने आयोजकले जनाएका छन् । बुधबार बिहान ८ बजेदेखी बेलुका ७ बजेसम्म क्याम्प संचालन भएको थियो । यस्तै बिहीवार बागमती गाउँपालिकाको वडा नम्बर ६ स्थित स्वास्थ्य चौकी बेतिनीमा पनि बृहत स्क्रिनिङ क्याम्प संचालन हुँदैछ ।
बुधबार भएको क्याम्पमा गाउँपालिकाका अध्यक्ष घलानसहित प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती–२ का वडाध्यक्ष जनक पहरी, वडा नम्बर ३ का वडाध्यक्ष कमान सिं पाख्रिन, वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी र नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटीका अध्यक्ष अरुण बल लगायतको आतिथ्यता रहेको थियो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.