२८ माघ २०८०, आइतबार ।
बागमती: पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारदेखि सुरु हुने छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने टोलिको टुंगो लागेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती खेलकुद विकास समितीले खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिता खेल्ने टोलिको टुंगो लागेको जनाएको छ ।
![](https://www.radiojhurjhure.com/wp-content/uploads/2024/02/DSC04982-1024x576.jpg)
प्रतियोगिताबारे जानकारी गराउँनुहुँदै पालिका खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठले प्रतियोगितामा १० टिमको सहभागी हुने बताउनुभएको छ । आयोजक बागमती खेलकुद विकास समितीसहित तीन मोफसल र ७ वटा ए डिभिजन क्लबले प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयो । प्रतियोगितामा विभागीय टोलिहरु सशस्त्र प्रहरी बलको नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजन क्लबहरु जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम(एनअरटी), हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड सहभागी हुनेछन् । यस्तै मोफसल टोलिहरु आयोजक बागमती खेलकुद विकास समिति, बाराको नवजनजागृती युवा क्लब सिमरा र सर्लाहीको बागमती युथ क्लब सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार बागमती युथ क्लब र मछिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता गत संस्करणको विजेता र उपविजेता टिम भने सहभागी नहुने भएको छ । पाँचौं संस्करणको विजेता विदेशी टोलि एफसी भुटनिज र ए डिभिजन क्लब संकटा प्रतियोगितामा सहभागी नहुने भएको हो । आयोजकले छैठौं संस्करणको प्रतियोगितामा सहभागी हुनका लागि खबर गरेपनि दुई टोलिले सहभागी नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै पालिका खेलकुद विकास समितीका सदस्य सचीव प्रमोद राईले पालिकाले यस पटक गोल्डकपको राशी पनि वृद्धि गरेको बताउनुभयो । यस संस्करणको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने उहाँले बतानुभयो । गत संस्करणमा विजेताले ८ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामा, वरिष्ठ उपाध्यक्ष अरुण बल र बागमती-४ का वडाध्यक्ष दन्तलाल माझी लगायतको उपस्थिति रहेको थियो ।