बागमती: बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले शिक्षा विना समृद्धिको यात्रा पूरा गर्न चुनौती हुने बताउनुभएको छ । शुक्रबार भएको प्रधानाध्यापकहरुको नियमित मासिक बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष घलानले शिक्षा क्षेत्रको सुधार नभएसम्म अन्य क्षेत्रको पनि विकास नहुने बताउनुभयो । शिक्षा क्षेत्रमा रहेको व्यतिथिहरुलाई सुधार गर्न सबैको महत्त्वपूर्ण भुमिका हुने उहाँले बताउनुभयो । अहिले शिक्षा क्षेत्रमा सोचेको जस्तो परिणाम नआइरहेको बताउनुहुँदै उहाँले प्रअहरुले विद्यालय व्यवस्थापन समिती र अभिभावकसँग छलफल गरेर शिक्षकहरुलाई परिचालन गर्नुपर्ने बताउनुभयो । एक जनाको मिहेनतले शिक्षा क्षेत्रमा रिजल्ट नआउने बताउनुहुँदै उहाँले प्रतिस्पर्धा गराएर लैजानुपर्ने बताउनुभयो ।
बैठकले विभिन्न ७ वटा एजेन्डामा छलफल र निर्णय गरेको छ । बैठक अघिल्लो बैठकको समिक्षा, चालू आर्थिक वर्षको पोशाक भत्ता फाल्गुन २० गतेसम्म बुझाउने, कक्षा ५ र ८ को परिक्षाका लागि फाल्गुन १४ गते निवेदन र फारम बुझाउने, सिकाई आपुरण तथा द्रुत सिकाई लागू गर्ने निर्णय गरेको छ । द्रुत सिकाईका लागि यसअघि शिक्षकहरू अभिमुखिकरण गराएको पालिका शिक्षा शाखाका प्रमुख प्रमोद राईले बताउनुभयो । समय र उमेर अनुसारको शिक्षा प्राप्त गर्नबाट वन्चित विद्यार्थीहरुका लागि यो सिकाईको उपलब्धि हुने उहाँले बताउनुभयो । यस्तै बैठकमा विद्यालयहरुमा निशुल्क पाठ्यपुस्तक, ईन्टरनेट जडान तथा छात्रवृत्ति रकम मागको बारेमा छलफल भएको छ । बागमतीमा ५० वटा सामुदायिक विद्यालयमध्ये १५ विद्यालयमा ईन्टरनेट पुग्न बाँकी छ । यस्तै बैठकले फाल्गुन १४ गते विषयगत शिक्षकहरुको भेला तथा समिती गठन गर्ने निर्णय गरेको छ ।
,,,
शैक्षिक क्यालेन्डर निर्माण समितीको संयोजकमा राई
बैठकले पालिकास्तरीय शैक्षिक क्यालेन्डर निर्माण समिती चयन गरेको छ । जनता माविका शिक्षक बसन्त राईको संयोजकत्वमा ५ सदस्यीय शैक्षिक क्यालेन्डर समिती चयन गरेको हो । समितीमा शिक्षकहरु दिपेश आले, चन्द्र थापा, तिलक बहादुर पाखृन र गोमा गोलेलाई सर्वसम्मत चयन गरेको छ । समितीका संयोजक राईले यो महिनाको मसान्तसम्म शिक्षा शाखा समितीलाई आफुहरुले क्यालेन्डरको मस्यौदा बुझाउने बताउनुभयो ।
,,,,
देवकी र जनता माविमा एसईई अभ्यास परीक्षा सम्पन्न
बागमती: मकवानपुरको बागमती गाउँपालिकाभित्रका दुई विद्यालयले मात्रै एसईई अभ्यास परीक्षा लिएको छ । वडा नम्बर ५ स्थित देवकी मावी र ८ नम्बरस्थित जनता माविले मात्रै एसईई अभ्यास परीक्षा लिएको हो ।
जनता मावि र देवकी माविले एकअर्कासँग समन्वय गरेर एकै समयमा अभ्यास परीक्षा लिएको हो । फाल्गुन २ गतेबाट सुरु गरिएको परीक्षा जनताको भने बुधबार सकिएको थियो भने देवकीको बिहीवार सकिएको थियो । देवकीमा प्राविधिक धारतर्फ परिक्षा लिनुपरेकोले एक दिन ढिला सकिएको हो । परीक्षा देवकीबाट १ सय ६ जना विद्यार्थी रहेकोमा ९५ जना उपस्थित भएको विद्यालयका प्रधानाध्यापक चन्द्र थापाले बताउनुभयो । यस्तै जनताबाट १ सय १९ विद्यार्थीमध्ये १ सय ९ जनाले अभ्यास परिक्षामा सहभागी भएको विद्यालय प्रधानाध्यापक दिनेश माझीले बताउनुभयो । दुवै विद्यालयले परीक्षा केन्द्र सार्न असहज भएपछि प्रश्नपत्र भने एउटै बनाएको थियो । दुवै विद्यालय प्रअहरुले अर्को हप्ताभित्र नजिता सार्वजनिक गर्ने बताउनुभएको छ । पालिकाभित्रका ५ माविमध्ये वडा नम्बर १ स्थित सुर्य मावी, २ नम्बरस्थित बागमती मावी र ९ नम्बर वडास्थिर बाघभैरव माविले एसईई अभ्यास परीक्षा गरेको छैन ।